


भैरहवा, ५ मंसिर । रुपन्देहीको भैरहवामा अनलाइन बेटिङ (सट्टेबाजी) संचालन गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथ स्थित अस्फाक आलमको घरमा अनलाइन खेल मार्फत अवैध रुपमा सट्टेबाजी जुवा संचालन गरेको सूचनाको आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै भारतीय नागरिक हुन् ।
सामाजिक संजाल वाट्स एप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप गठन गरेर क्रिकेट, फुटबल, टेनिस, हक्की, घोडा दौड, लगायतका खेलहरुमा सट्टेबाजी संचालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले ल्डर्स एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७ जस्ता वेभसाइटहरुबाट सट्टेबाजी जुवा चलाएका थिए ।

पक्राउ पर्नेमा भारत हरियाणा प्रदेश पासकुल्ला जिल्ला ईन्दौरका ३३ वर्षीय साहिल सोडा, सोही प्रदेशको फरिदाबाद जिल्ला खडकेला थानाका २४ वर्षीय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश बर्मा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजारका २० वर्षीय रवि जैशवाल, आजमगढ जिल्ला सदर थानाका २५ वर्षीय शिवम सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै गोरखपुर जिल्ला मोतिरामका २१ वर्षीय दीपक जैशवाल, सोही जिल्लाको गाईन्डका २२ वर्षीय रजत कुमार, कुडाघाटका १८ वर्षीय लक्की जैशवाल, खलिलवा थानाका २१ वर्षीय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अबधेश कुमार, १८ वर्षीय मोहित कुमार, क्यान्ट थानाका २० वर्षीय प्रियान्सु जैशवाल, सोही स्थानका १९ वर्षीय मनिष पासवान पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीको ४० वटा मोबाइल सेट, तीन वटा ल्यापटप र दुई वटा राउटर बरामद भएको एसपी राठौरले बताए । अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

