
भैरहवा, ५ मंसिर । विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।
टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्नेछ । खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिए ।
Advertisement

Advertisement
Advertisement

खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउनसमेत महत्पूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिए । उनीहरुले खेलमा जित वा सिकाई मध्ये एक हुने बताउँदै उत्साहसहित प्रदर्शन गर्नका लागि आग्रह गरे । नेत्रहीन क्रिकेटमा नेपालले गरिरहेको प्रगती सबैका लागि प्रेरणा भएको समेत उनीहरुले जनाए ।
पाकिस्तानमा हुन लागेको नेत्रहीन टि-२० विश्वकप चौथा संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टिमका कप्तान रमेशबहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभए पनि केही समयको तयारीले विश्वकप खेल्न जान लागेको जनाए ।
पछिल्लो समय नेपाल क्रिकेट संघले केही सहयोग गरे पनि अन्य सहयोग नपाएको गुनासो उनको छ । छोटो समयको तयारी भए पनि आफूहरुले उपाधि जित्ने विश्वास लिएर टिम एक ढिक्का भएर देशका लागि खेल्ने कप्तान बानियाँले बताए ।

