

सलमान खान
भैरहवा, ६ मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरु अन्तर्राष्ट्रिय उडान थालेपछि भैरहवासहितका क्षेत्र उत्साहित बनेको छ । गत कार्तिक १८ गते देखि विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।



विमानस्थल संचालनपछि नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय थालेका थिए । तर, विविध कारणले यी एयरलाइन्सहरुले उडान स्थगित गरेका थिए । त्यसपछि यस विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, थाईल्याण्डको थाइ एयर एशिया, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई र कतारको कतार एयरवेजले नियमित उडान थालेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार, शुक्रवार काठमाडौं-भैरहवा-दुबई-काठमडौं र जजिरा एयरवेजले सातामा तीन दिन मंगलबार, बिहीवार, शनिवार सिधा कुवेत-भैरहवा तथा थाई एयर एशियाले सातामा सोमबार, बिहीवार बैंकक-भैरहवा सिधा एक उडान गरिरहेका छन् ।
त्यस्तै फ्लाई दुबईले दुबई-भैरहवा-काठमाडौं-दुबई र कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं-दोहा दैनिक एक उडान भरिरहेका छन् । यहाँबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निजी क्षेत्रसहित सर्वसाधरणहरु उत्साहित छन् । आगनबाटै विदेश जान पाउँदा सर्वसाधरणलाई सहज भएको छ भने व्यवसाय समेत फस्टाउने व्यवसायीहरुको अपेक्षा छ ।
सरकारले पनि विमानस्थल संचालनका लागि विभिन्न रणनीति अंगाल्दै भैरहवा विमानस्थलबाट सेवा दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विभिन्न सुविधा दिएको छ । सरकारले कम्पनीहरुलाई भैैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रति यात्रु तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ लाग्ने पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्याडिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ । यसको अलावा काठमाडौं विमानस्थल भन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिएको छ ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुदाँ यस क्षेत्रका पर्यटन क्षेत्र पनि उत्साहित छ । विमानस्थल निर्माण सुरु भएदेखि पर्यटन क्षेत्रमा लगानी थालेका व्यवसायीहरु विमानस्थल संचालन नहुदाँ निराश भइसकेका थिए । तर, अन्तर्राष्ट्रिय उडानले उनीहरुको निराशामा आशा जगाएको छ । यस क्षेत्रको पर्यटनले फड्को मार्ने उनीहरुको विश्वास छ ।
‘विमानस्थल निर्माण सुरु भएदेखि यहाँ पर्यटन क्षेत्रमा लगानी लगाउन सुरु भइसकेको थियो । लगानीको प्रतिफल नपाउँदा व्यवसायीहरु निराश भएका थिए’, भैरहवाका पर्यटन व्यवसायी अमित कुमार गुप्ताले भने, ‘तर, अब अन्तर्राष्ट्रिय उडानले केही आशा पलाएको छ ।’
उनले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानले यो क्षेत्र विभिन्न मुलुकसँग सिधा रुपमा जोडिने हुदाँ पर्यटन क्षेत्रका साथै यो क्षेत्रको कारोबार फस्टाउने विश्वास लिइएको बताए ।
‘भैरहवा विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान हुदाँ हामी हर्षित छौँ’, उनले भने, ‘अझै यहाँ नआएका एयरलाइन्सहरुलाई सरकारले ल्याउनुपर्छ र प्रवद्र्धनका लागि यस क्षेत्रका होटल व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकार लगायत सरोकारवालाहरुले सहजीकरण गर्नुपर्छ ।’
विमानस्थलको सबैभन्दा बढी प्रयोग वैदेशिक रोजगारीमा जाने सर्वसाधरणहरुले प्रयोग गर्ने गरेका छन् । उडान सुरुवात दुई हप्ता समेत नभएकोले आउने भन्दा जाने यात्रुको संख्या कम छ । तर, उडान सुरु भएको केही दिनको अन्तरालमै यहाँबाट विदेश जान सुरुवात भइसकेको छ ।
हालै परिवारसहित दुबई भ्रमण गरेर फर्किएका भैरहवाका उद्योगी अजय कुमार गुप्ताले आफ्नै घरआगनबाट विदेश भ्रमण गरेर आउन पाउँदै अत्यन्तै खुशी लागेको बताए । ‘काठमाडौं भन्दा भैरहवाबाट गएर भैरहवामै ओर्लिन पाउँदा धेरै राम्रो लाग्यो । पूर्ण सन्तुष्ट छौं’, उनले भने, ‘भर्खर विमानस्थल संचालनमा आएको छ । केही कमी कमजोरी होलान् । त्यो सुधार गर्दै लैजाने विषय हो ।’

उनी जस्तै अन्य उद्योगी, व्यवसायी, सर्वसाधरणहरु पनि वैदेशिक रोजगारी, भ्रमणमा जान थालिसकेका छन् । ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुवात भएको छ । हामी उत्साहित छौँ’, नेपाल एशोसिएसन टुर एण्ड ट्राभल्स एजेण्ट लुम्बिनी प्रदेशका सदस्य वरुण ज्ञवालीले भने, ‘यहाँबाट उडान गर्ने एयरलाइन्सहरुलाई हामी यात्रुदिन सुरु गरेका छौँ र निरन्तर दिइरहन्छौँ ।’
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले विमानस्थलको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइरहेको र काठमाडौं विमानस्थलको ट्याक्सी वे मर्मतको अवस्थामा सरकारले यहाँबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई उडान भर्न लगाउनु सुखद पक्ष रहेको बताए ।
जाडोयाममा विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएकोले कम ‘भिजिबिलिटी’ कारण विमान काठमाडौं डाइर्भट भई पुनः भैरहवा अवतरण गर्नुपर्ने बाध्यता छ । जाडोयाममा बिहानको समयमा तराईमा हुस्सु र कुहिरोले गर्दा विमानस्थल कुनै दिन खुल्दैन । जसकारण विमान अवतरण गर्न सक्दैनन् ।
विकल्पको रुपमा भैरहवामा अवतरण गर्न लागेको विमानलाई काठमाठौं लैजानुपर्ने हुन्छ । केही दिन अघि मात्रै ‘भिजिबिलिटी’ कम हुदाँ थाइ एयर एशिया र जजिरा एयरवेज भैरहवाको आकाशमा फन्को मार्दै काठमाडौं पुगेर पुनः भैरहवामा अवतरण गर्नु परेको थियो ।
कम ‘भिजिबिलिटी’ मा उपकरणमा आधारित प्रविधिको सहाराले विमानको अवतरणका लागि विमानस्थलमा इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडान गरिएको छ । आइएलएस रेडियो नेभिगेशन प्रणाली हो । आइएलएस संचालन गर्दा भारतको सीमानामा रेडियस पुग्ने भन्दै भारतले अनुमति नदिदाँ विमानस्थलमा उक्त उपकरण संचालनमा ल्याउन नसकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
हाल भैरहवा विमानस्थलमा ‘भेरी हाई फ्रिक्वेन्सी’ (भिओआर) प्रविधि लागु गरिएकोले विमान अवतरणका लागि एक हजार आठ सय मिटरको ‘भिजिबिलिटी’ आवश्यक पर्छ ।
‘भिजिबिलिटी’ को समस्या समाधानका लागि आइएलएसको विकल्पको रुपमा भूउपग्रहमा आधारित ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली संचालनमा ल्याउने तयारी भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
आरएनपी-एआर यन्त्र उपकरण नभई रुट डिजाइन जस्तो हो र यो स्याटलाइट बेस हुन्छ । जसका लागि सम्बन्धित विमानमा प्रविधी जडान गर्नुपर्ने हुन्छ र सोही अनुसार सहज रुपमा विमान अवतरण हुन सक्छ । यो काठमाडौं विमानस्थलमा समेत प्रयोगमा छ । यो विकल्पलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा विमानस्थलका लागि अघि सारेको छ ।

आरएनएपी-एआर प्रविधि पनि र आइएलएस प्रविधि सरह नै कम ‘भिजिबिलिटी’ विमान अवतरण गर्न सकिने सूचना अधिकारी राउत बताउँछन् । ‘आरएनएपी-एआर विधि र आइएलएस दुवैबाट आठ सय मिटर ‘भिजिबिलिटी’ सम्म बिमान अवतरण हुन्छ’, उनले क्लिक लुम्बिनीसगँ भने, ‘त्यसैले विकल्पको रुपमा आरएनएपी-एआर विधिलाई अघि बढाइएको छ । तर, केही समय लाग्न सक्छ ।’
भैरहवा विमानस्थल संचालनका लागि सरकारले ०७९ सालमा भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय संचालनमा ल्याएको छ । यस कार्यालयले सेवाग्राहीलाई सेवा दिदै आएको छ । कार्यालय स्थापना पश्चात पूर्वश्रम स्वीकृती, अन्तिम श्रम स्वीकृती र व्यक्तिगत श्रम स्वीकृतीको सेवा दिदै आएको थियो ।
कार्यालयबाट यस मध्ये सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतीको सेवा दिइएको छ । कार्यालय प्रमुख केशव भट्टराईका अनुसार संस्थागत अन्र्तगत पूर्वश्रम स्वीकृतीको सेवा विभागले काठमाडौंबाहिर करिब एक वर्षअघि देखि बन्द गरेकोले सेवा प्रवाह हुन सकेको छैन ।
त्यस्तै वैदेशिक रोजगारमा जाने व्यक्तिले संस्थागत अन्र्तगतकै अन्तिम श्रम स्वीकृती म्यानपावर संस्थाहुँदै सेवा लिन आउने भएकोले कार्यालय स्थापनाकालमा सेवा दिइएपनि हाल सेवाग्राहीले सेवा नलिएको बताए ।
यस कार्यालयका सेवाहरु अनलाइन मार्फत पनि प्रवाह गरिएकोले लगभग अधिकांश सेवाग्राहीले अनलाइनकै माध्यमले सेवा लिने गरेका छन् । हाल दैनिक औसत एक सय जनालाई पुनःश्रम स्वीकृती र ५० जनालाई व्यक्तिगत नयाँ श्रम स्वीकृतीको सेवा प्रवाह भइरहेको कार्यालयले जनाएको छ ।
विभागले पूर्वश्रम स्वीकृती सेवा बन्द गर्नु र म्यानपावर व्यवसायीले पनि काठमाडौंबाटै पूर्व र अन्तिमश्रम स्वीकृती सेवा लिने हुदाँ वैदेशिक रोजगारीमा जाने यात्रु यी लगायत अन्य कारणले पनि काठमाडौं पुग्नुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीले भैरहवा क्षेत्रबाट आफुहरु सेवा प्रदान गर्न तयार रहेको तर सरकारले व्यवसायीहरुको समस्या पनि समाधान गर्नुपर्ने बताउँछन् ।
‘विमानस्थल संचालन आइसकेको अवस्थामा पनि श्रम स्वीकृती, स्वास्थ्य जाँचका जस्ता कार्यका लागि सर्वसाधरण काठमाडौं पुग्नुपर्ने बाध्यता छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘सरकारले त्यसको अन्त्य गर्नुपर्छ । निजी क्षेत्रले त्यसका लागि के गर्नुपर्छ ? सरकारले भन्नुपर्यो । हामी तयार छौँ ।’
सरकारले काठमाडौंमा रहेका म्यानपावरलाई अनिवार्य यस क्षेत्रमा शाखा विस्तार गर्न लगाउनुपर्ने, स्वास्थ्य जाँचको व्यवस्था यसै क्षेत्रबाट गराउनुपर्ने, बौद्धिष्ट मुलुकहरुका एयरलाइन्सहरुलाई ल्याउनुपर्ने लगायत निजी क्षेत्रको माग छ ।

यी सबै कार्यमा सरकारको तिव्रता नदेखिदाँ काठमाडौं विमानस्थल मर्मत अवस्थासम्मका लागि विकल्पको रुपमा मात्र भैरहवा विमानस्थल संचालनमा ल्याइएको भन्ने उनको आशंका छ ।
शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रित गरी विमानस्थल निर्माण गरी संचालनमा ल्याइएपनि चीन, श्रीलंका, भियतनाम जस्ता मुलुकबाट बौद्धिष्ट पर्यटक भित्रयाउनका लागि उक्त देशका एयरलाइन्ससगँ छलफल गरेर भैरहवाबाट उडान गर्न लगाउनुपर्नेमा उक्त कार्य नदेखिएको उनको भनाई छ ।
‘विमानस्थल निर्माणलाई देखेर यस क्षेत्रमा सुरुमा गरिएको लगानी बीचमा रोकेको थियो’, उनले भने, ‘तर अब विमानस्थल संचालन भइसकेकोले निर्माणकार्य फेरी सुचारु गरेर जुर्मुराएका छौँ । सरकारले आशामा पानी नफेरिदियोस् ।’
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुदाँ पश्चिम क्षेत्रलाई मात्रै नभई काठमाडौंको चाप, जाम, प्रदुषण लगायत कारण मुलुकका अन्य क्षेत्रका सर्वसाधरणले पनि यस विमानस्थलाई प्रयोग गर्ने सम्भावना छ । तर, बुटवल–नारायणघाट जस्ता सडकको अवस्थाका कारण र भैरहवाबाट मुलुकका अधिकांश जिल्लामा उडान कनेक्टिभिटी समेत नहुदाँ तत्कालका लागि भैरहवा विमानस्थलमा प्रवद्र्धनमा सामान्य बाधा पुग्ने देखिएको स्थानीयहरु बताउँछन् ।
‘भैरहवाबाट काठमाडौंबाहेक दैनिक पोखरा मात्र उडान सुरु भएको छ’संघका अध्यक्ष ठाकुरले भने, ‘आन्तिरक तर्फ दुई तीन ठाउँमा उडाएर मात्र भएन । अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुस्टअप’ गर्नका लागि धनगढी, विराटनगर, जनकपुर लगायत स्थानलाई पनि भैरहवासगँ उडानमार्फत जोड्न आवश्यक छ ।’
होटल व्यवसासय चलायमान गराउनका लागि विमानस्थललाई लक्षित गर्दै भैरहवामा श्रमसम्बन्धिका कार्य, स्वास्थ्य जाँच, म्यानपावर शाखाको विस्तारका कार्य तत्काल गराउनुपर्ने सिद्धार्थ होटल एशोसिएसनका सदस्य कैलाश गुप्ता बताउँछन् । उनले विमानस्थल संचालन भएको केही दिन मात्र भएकोले होटल व्यवसायमा खासै सकारत्मक असर नभएको बताए ।
‘वैदेशिक रोजगारीका लागि जाने बढी सर्वसाधरण भैरहवामा होल्ड नभएसम्म होटल व्यवसाय राम्ररी चल्दैन’,उनी भन्छन्,‘जसका लागि म्यानपावरका शाखाहरु भैरहवामा खोलिनुपर्छ र स्वास्थ्य जाँचका लागि यहाँका स्वास्थ्य संस्थाहरुलाई विदेशी मुलुकबाट मान्यता प्राप्तीका लागि सरकारले भुमिका खेल्नुपर्छ ।’
केही मुलुकले वैदेशिक रोजगारीमा आउने सर्वसाधरणको स्वास्थ्य जाँच आफैले मान्यता दिएको संस्थाबाट मात्र गराउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण पनि सर्वसाधरण काठमाडौं जानै पर्ने बाध्यता छ । जसका लागि परराष्ट्र मन्त्रालयले समन्वय नगरेको देखिएको सरोकारावालाहरु बताउँछन् ।