


दाङ, ७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोबीच भेटवार्ता भएको छ ।
शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयोगको बारेमा छलफल भएको प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताए ।
‘प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको ७ वर्ष भएको छ । प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरी छ’उनले भने, ‘स्वीस सरकारले गर्दै आएको सहयोगलाई प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झोलुंगे पुल निर्माण, पक्की पुल निर्माण होस् । प्राविधिक सहयोगलाई अझै निरन्तरता दिन आवश्यक छ ।’
लुम्बिनी प्रदेशभित्र मानसिक स्वास्थ्य, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराए ।
साथै, लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेको र अब त्यसलाई मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराए ।
स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा कार्यक्रम लागू भएको छ । यो कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न आग्रह गरे । उनले राखेको प्रस्तावप्रति राजदुतले सकारात्मक रहेको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिए ।

