
काठमाडौ,९ मंसिर। आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । उपनिर्वाचन हुने केही जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री समेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ४१ पदका लागि ३७६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपनिर्वाचन हुने क्षेत्रहरुमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।
Advertisement

Advertisement
Advertisement

उपनिर्वाचनका लागि मतपत्रको नमूना समेत आयोगको वेवसाइटमा राखिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले २ लाख ५९ हजार मतपत्र छापिएको जानकारी दिइन्। उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको हो । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।
सेतो रंगको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक–फरक छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् ।
सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षको चुनावको लागि तयार पारिएको मतपत्रमा छन् । त्यहाँ माओवादी र एमाले–काग्रेस गठबन्धनको मात्रै प्रतिस्पर्धामा भएकोले दुईवटा चिह्नमात्रै छन् । त्यहाँको मतपत्रमा रुख र हसियाँ हथौडा चिह्नमात्रै छ । कांग्रेससँग गठबन्धन गरेको एमाले रुख चिह्नमा चुनावमा उत्रिएको छ ।


