


काठमाडौं, ९ मंसिर। ०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको धरहराको पुननिर्माण गरी आजदेखि सर्वसाधरणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको छ । जसमा चढ्नका लागि नेपाली नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।
विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट अर्थात् १ सय रुपैयाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रुपमा निःशुल्क धरहरा खुला गरिएको थियो ।

सार्क राष्ट्रका नागरिक लागि ५ सय शुल्क तोकिएको छ । सार्कबाहेकका विदेशी नागरिकले १ हजार शुल्क तिर्नुपर्नेछ ।
व्यावसायिक बाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार र भिडियो छायांकन पनि प्रतिघण्टा ५ हजार नै तिर्नुपर्ने छ । व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार लाग्नेछ । पार्किङ शुल्क चारपाङ्ग्रे प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे प्रतिघण्टा १० रुपैयाँ तोकिएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रुपमा शुल्क लिई धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि आजबाट व्यावसायिक रुपमा धरहरा खुला भएको हो ।

