
काठमाडौं,११ मंसिर। पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण विषयहरुमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी (भैरहवा) र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए ।
यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास रहेको थियो । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो ।
भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिएका छन ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गरे । सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

