


भैरहवा, १७ मंसिर । रुपन्देहीका सात जना क्रिकेट खेलाडीहरुले मासिक रकम सुविधा पाउने भएका छन् । क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नका लागि चालु आर्थिक वर्षमा सात जना खेलाडीहरुलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।
‘खेलाडीको संरक्षणका लागि कल्याणकारी कोष स्थापना गरेका थियौं । जसबाट अहिले हामीले सात जना खेलाडीहरुलाई मासिक रकम सुविधा उपलब्ध गराउने भएका छौँ’, उनले भने, ‘खेलाडी कल्याणकारी कोषको रकम बृद्धि गर्न सकेमा अन्यलाई उक्त सुविधा उपलब्ध गराउने छौँ ।’

मासिक सुविधा पाउने खेलाडीहरुमा सिनियरतर्फ २, यु–१९ तर्फ २ र महिला क्रिकेट खेलाडीतर्फ ३ जना छन् । संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक ५ हजार रुपैयाँ सुविधा पाएका हुन् ।
यस्तै, यु– १९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एन्जिला पाठकले मासिक सुविधा पाएका छन् ।
क्रिकेट संघका सदस्य प्रथम पराजुलीका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अरुण शाही र २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक वापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।
‘दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीहरुलाई मासिक सुविधा दिइरहेका छौं’, उनले भने, ‘सहयोगी दाताहरु थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौं ।’

