
देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशमा पुनःस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुनःस्थापनाको लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो । एशियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुनःस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
एशियाली विकास बैंकका प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए । ‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ ।
Advertisement

Advertisement
Advertisement

यसका लागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पुर्याउन, समाज र घर परिवारमा पुनःस्थापनाका लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो’, मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने संकल्प प्रदेश सरकारको छ ।’
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसा प्रभावितहरुको न्यायको लागि अन्य क्षेत्रहरुमा पनि पुनःस्थापना गृहको आवश्यकता रहेको औंल्याए ।यसैबीच एसियाली विकास बैंकको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ ।
रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँचीस्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो । महिला समुत्थान परियोजना अन्तर्गत सेवा केन्द्र र पुनःस्थापना गृह निर्माणको प्रकृया अघि बढेको हो । लैंगिक हिंसा न्यूनिकरण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना लागु भएको छ ।

