
भैरहवा, २४ मंसिर । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवाप्रदान गर्दै आएका तीन विदेश वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने तयारीमा छन् । भैरहवामा बाक्लो हुस्सुसहितको खराब मौसमका कारण देखाउँदै विमानस्थलबाट सेवा प्रदान गर्दै आएको जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगनको तयारी गरेका हुन् ।
यी तीनसहित कतार एयरवेज र नेपाल एयरलाइन्सले पनि विमानस्थलबाट सेवा दिदै आएकोमा गत मंसिर १५ गतेसम्ममात्र उडान अनुमति लिएको कतार एयरवेजले पनि पुनः उडान अनुमति नलिदाँ उसको सेवा रोकिन पुगेको छ ।
Advertisement

Advertisement
Advertisement

यहाँबाट भैरहवा–कुबेत उडान गरिरहेको जजिरा, दुबई उडान गरिरहेको फ्लाई दुबई र थाइल्याण्ड उडान गरिरहेको थाई एयर एशियाले खराब मौसमलाई कारण देखाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसा तीनवटै विमान कम्पनीले उडान स्थगन गर्न निवेदन दिएका छन् । तर, प्राधिकरणले उडान स्थगन गर्न अनुमति दिइसकेको छैन ।
‘भैरहवा विमानस्थल आसपास रहेका उद्योग लगायतबाट निस्किने धुवाँसहित अचेल चिसोका कारण तराईमा लाग्ने हुस्सुले बिहान उडानहरू प्रभावित भइरहेका छन्,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् । त्यहाँ तत्काल मौसम सुधार नहुँदासम्म उडान गर्न नसकिने जनाउँदै जानकारी दिएका छन् ।’
अहिले भैरहवामा बिहान १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो भिजिबिलिटी साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन । यिनलाई अवतरण गर्न न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।
प्राधिकरणले माघ १० गतेदेखि भैरहवामा भूउपग्रहको सहायतामा जहाजलाई अवतरण गराउने आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन) प्रणाली लागू गर्दै छ । यो प्रणालीमा न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् ।
‘खासमा विदेशी वायुसेवाले पनि उडान स्थगन गर्न चाहेका छैनन् । किनकी बजारको लय बिग्रिन्छ । यत्रो लगानी तथा प्रचार भइसकेको छ । तर उनीहरू केही समयका लागि उडान स्थगन गर्न अपिल गरिरहेको छन् । प्राधिकरणले निर्णय गरिसकेको छैन । उनीहरुलाई बिहानपछि दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरीएको छ,’ भुलले भने ।
प्राधिकरणले जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियालाई आरएनपीएआर लागू हुनुअघिसम्म समय हेरफेर गरेर उडानलाई निरन्तरता दिन भनेको छ । तर, यी वायुसेवा कम्पनीहरुले जवाफ दिएका छैनन् ।

