
भैरहवा, २५ मंसिर । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले छनोट गरेका प्रहरीहरु दीक्षित भएका छन् । स्थानीय सरकार संचालन ऐन अन्तर्गतका कानुन कार्यान्वयनका लागि नगरपालिकाको कार्यालयले भर्ना अह्वान गरी एक प्रहरी सहायक निरीक्षक र १४ जना जवान गरी छनौट गरेको १५ जना प्रहरीहरु दीक्षित भएका हुन् ।
छनौट भएका प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा., रुपन्देहीले काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, बडिगार्ड ड्रिल लगायतको एक महिना आधरभूत तालिम प्रदान गरेको छ । जसपश्चात मंगलबार उनीहरु दीक्षित भएका हुन् । त्यसअघि उनीहरुले कवाज प्रदर्शन गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रहरी प्रशिक्षार्थीहरुले नगरपालिकाको नीति निर्देशनमा रहेर दक्षताका साथ तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गरे । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नगर प्रहरीको प्रत्येक गतिविधिमा सबैको नजर हुने भएकोले सानो कामले पनि प्रहरी प्रतिको विश्वास बढ्ने बताईन् ।
सिद्धार्थनगर नगरपालिकाको प्रमुख इश्तियाक अहमद खाँले सशस्त्र प्रहरीले प्रदान गरेको तालिमले नगर प्रहरीलाई परिपक्क बनाएको देखिएको बताउँदै अब स्थानीय सरकारको ऐन कानुन कार्यान्वयनमा सहज हुने बताए ।

सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा. रुपन्देहीका प्रमुख एसप आनन्द थापाले स्थानीय निकायहरुसँग सहकार्य तथा समन्वय गरी आपसी सम्बन्धलाई अझ मजबुत र अन्तर निकायबिचको क्षमता, कला, सीप एवं व्यवसायीक दक्षता आदान प्रदान गर्नका लागि नगर प्रहरी आधारभूत तालिम संचालन गरिएको बताए ।
‘तालिममा सिकाईएका विषयहरुलाई प्रहरी प्रशिक्षार्थीहरुले अनुशासन, ईमान्दारीता र जिम्मेवारीपनलाई आत्मासाथ गरी आ–आफ्नो कार्य क्षेत्रमा गएर अक्षरस पालन गरी उत्कृष्ट ढंगले कार्य सम्पादन गर्नुहुनेछ भन्ने पुर्ण विश्वास छ’, उनले भने, ‘तालिमले उहाँहरुको पेशागत जिवनमा नयाँ आयाम थप्नेछ र पेशागत दक्षता अभिवृद्धी भई पूर्ण व्यवसायिक दक्षताका साथ भविष्यमा सही ढंगले कार्य निर्वाह गर्ने अपेक्षा छ ।’
प्रशिक्षार्थी नगर प्रहरीहरुको मूल्याङ्कनका लागि सैद्धान्तिक तर्फ १०० अंक र व्यवहारिक तर्फ १०० अंक गरी कुल २०० पूर्णाङ्कका विभिन्न परीक्षाहरु संचालन गरिएको थियो । परिक्षामा सफल सबै नगर प्रहरीलाई नगर प्रमुख खाँ सहित उप–प्रमुख अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले दज्र्यानी चिन्ह र प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौर, सिद्धार्थनग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

