


भैरहवा, २६ मंसिर । पश्चिम नेपाल बस व्यवसायी समितिद्धारा संचालित रोयल स्टार कम्पनीले बेलहिया–काठमाडौं–बेलहिया एसी बस सेवा सुरु गरेको छ । विगत एक वर्षदेखि बेलहिया बेलहिया–काठमाडौं–बेलहिया रात्रीकालिन सेवा दिदै आएको कम्पनीले मंगलबारदेखि सोही रुटमा दिवासेवा पनि सुरु गरेको हो ।
शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यसको प्रवेशद्धारको रुपमा रहेको भैरहवालाई काठमाडौंसँग जोड्नका लागि उक्त रुटमा एसी बस सेवा गरिएको कम्पनीका संचालक सितल घर्तीले बताए ।

‘सबै पर्यटक हवाई यात्रा पनि गदैनन् र यो दुवै पर्यटकीय स्थल पनि हो’,उनले भने, ‘भैरहवा–लुम्बिनीका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि हामीले रात्री र बिहानको सेवा थालेका हौं ।’ यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई छ ।
यात्रुहरुको आरमदायिक यात्राका लागि ३१ (टू बाई वान) मात्र राखिएको उक्त बसमा एयर सस्पेन्सन, एसी, हिटर, मिनिरल वाटर, वाइफाई कम्फर्टेबल सोफा सिट, मोवाईल चार्जर लगायतका सेवा सुविधा रहेको कम्पनीले जनाएको छ ।
‘हामीले धेरै मुनाफाका लागि बसमा दुवै तर्फ सिट (टू बाई टू) राख्न सक्थ्यौ’, संचालक घर्तीले भने, ‘तर, धेरै मुनाफाभन्दा यात्रुहरुको आरमदायिक यात्रालाई प्राथमिकतामा राख्दै सिट संख्या घटाएर ३१ वटा मात्र राखेका छौं ।’ उनले एयर सस्पेन्सन पनि जडित बस रहेकोले यात्राको क्रममा लचकता हुने भएकोले यात्रुहरुलाई यात्रामा कठिनाई नहुने बताए ।
कम्पनीका अनुसार मंगलबार देखि सुरु भएको सेवा बेलहियाबाट काठमाडौंका लागि बिहान ५ः४५ बजे र काठमाडौंबाट बेलहियाको लागि बिहान ६ः२० बजे बस प्रस्थान गर्ने तालिका रहेको छ ।

