
बर्दिया, २६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्राचीन सिर्जनशिल आदिवासी समाज रेडियो गुर्वावा एफएमले निर्माण गरेको सांस्कृतिक भवनको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सिमान्तकृत तथा पिछडिएको वर्गको हरेक क्षेत्रमा समान पहुँचका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुलाई समावेशी बनाएको बताए । प्रदेश निजामती सेवामा थारु समुदाय तथा अन्य समुदायलाई केन्द्रित गरेर आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

‘प्रदेश सरकारले बनाएका कानुनहरुले सिमान्कृत तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ’, उनले भने, ‘लुम्बिनी प्रदेशमा १४ प्रतिशतको हाराहारीमा थारु समुदाको जनसंख्या छ । हामिले थारु समुदायको निजामती सेवामा १३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं ।’ प्रदेश सरकारले समाज रुपान्तरणको अभियानलाई अघि बढाउन नीति तथा कार्यक्रमहरुलाई समेत जोडेर लगेको सभामा जानकारी दिए ।
‘यो समाज रुपान्तरणको अभियानलाई व्यापक बनाउन जरुरी छ । प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई सोही अनुसार अघि बढाएको छ’, उनले भने, ‘यसले सामाजिक सद्भावलाई अझैं बढाउने छ । हामीले परिकल्पना गरेको समुन्नत समाज निर्माणका लागि आजको दिन कोशेढुंगा सावित हुनेछ ।’
सिमान्तकृत तथा पिछडिएको वर्गको पक्षमा सरकार रहेको बताउँदै उनले आगामी दिनहरुमा समुदाय लक्षित अभियानहरु सञ्चालन गरिने बताए । सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोवासी तथा भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको समस्या समाधान गर्न तीन तहकै सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाएर लगेको जानकारी दिए ।
स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले ५५ लाख, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बाँसगढी नगरपालिकाको १५ लाख गरि कुल एक करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

