


भैरहवा, २६ मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संग्लन आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन् । भैरहवा विमानस्थलमा सुन तस्करी संग्लन आरोपमा प्रहरी र विमानस्थलका कर्मचारी नै पक्राउ परेको यो पहिलो घटना हो ।
गत मंसिर २३ गते दुबईबाट फ्लाई दुबईको विमानमा भैरहवा आएको एक यात्रुले ल्याएको एक सय पचास ग्राम सुनसहित संग्लन आरोपमा प्रहरी जवानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन् ।

पक्राउ परेका आरोपीहरुको नाम विमानस्थल भन्सार कार्यालयले खुलाउन चाहेन । तर, स्रोतका अनुसार पक्राउ पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल वि.क., विमानस्थल कार्यालय सहयोगी (स्विपर) रुपन्देही मायादेवी गाउँपालिका–२ का राजन यादव र दुबईबाट आएका यात्रु लुम्बिनी सांस्कृतिक नगरपालिकाका जर्नादन गुप्ता रहेका छन् ।
‘विमानस्थलको अन्य क्षेत्रमा ड्युटी भएको जवान वि.क.को गतिविधी शंकास्पद लागेपछि उनीमाथी निगरानी भएको थियो’, विमानस्थल स्रोतले क्लिक लुम्बिनीसगँ भन्यो, ‘विमान आएको केही समयपछि उनको साथबाट विमानस्थलमै एक सय पचास ग्राम सुन बरामद भएको हो ।’
दुबईबाट सुन लिएर आएको यात्रु गुप्ताले भन्सार क्षेत्रभन्दा पहिला नै पक्राउ परेका स्विपर यादवको सहायतामा जवान वि.क.सम्म सुन पुराएर आफु सहज रुपमा विमानस्थल बाहिर निस्किएका थिए । जसपछि विमानस्थल प्रहरीले जवान वि.क.लाई सुनसहित र विमानस्थल बाहिर पुगेका गुप्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरुलाई थुनामा राखेर कसुर अनुसारको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको भन्सार अधिकृत ज्ञवालीले बताइन् ।

