
भैरहवा, २ पुस । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी छिन् । पति लामिछानेमाथि प्रहरी अनुसन्धान सकिएर अदालतमा लगिरहेको बेला उनले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी हुन् ।
उनीहरुको खातामा कम्तीमा २१ करोड रुपैयाँ कारोबार भएको सार्वजनिक भएपछि पत्नी पौडेलले मिडिया ट्रायल भएको भन्दै आरोप अस्वीकार गरेकी छिन।
Advertisement

Advertisement
Advertisement

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छिन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’
उनले बुबालाई जवाफ दिएको कुरा पनि उल्लेख गरेकी छिन, ‘मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’ उनका अनुसार सो सन्दर्भ ‘बुवा छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।’
उनी अगाडी लेख्छिन्, ‘कनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु, समाचार लेख्नेमाथि दया लागेर आउँछ।’
उनी अझ अगाडी भन्छिन, ‘खाता मेरो हो। यति उति पैसा छ भनेर आ आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि, श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’
उनको चुनौती छ, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देऊ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’


