
भैरहवा, ३ पुस । भैरहवामा स्ट्रिट फुड फेष्ट (सडक खाना महोत्सव) हुने भएको छ । पर्यटन प्रवद्र्धन र बजार चलायमान गराउनका लागि उद्योग व्यापार संगठन, रुपन्देहीले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा स्ट्रिट फुड फेष्ट (सडक खाना महोत्सव) आयोजना गरेको छ ।
संगठनले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर पुस १६ गते (डिसेम्बर ३१) अंग्रेजी नयाँ वर्षका दिन भैरहवाको प्रहरी टोल (सानु डिपार्टमेन्टल स्टोर देखि मिलन चोकसम्म) क्षेत्रमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

आयोजकका अनुसार सिद्धार्थनगर नगरपालिकाको कार्यालय र युनिक साउण्ड सह-आयोजक रहेको महोत्सवमा तीन र चार तारे होटलका साथै कुल ५० वटा स्टल रहने छन् । जसमा नयाँ वर्ष मनाउनका आएका पर्यटकहरुले सडकमा रमाउँदै न्यून मूल्यमा विभिन्न परिकारका स्वाद लिन सक्नेछन् । उक्त स्टलहरुमा बाह्य पर्यटकहरुलाई समेत लक्षित गर्दै नेवारी, थारु, मगर लगायत समुदायका खानाका परिकारहरु हुनेछन् ।
‘पर्यटन प्रवद्र्धन र बजार चलायमान गराउनुका साथै भैरहवामा रात्रीकालिन बजारको अवधारणालाई दिगो दिनका लागि पनि यो महोत्सव आयोजना गर्दैछौँ’, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले भने,‘आन्तरिक र बाह्य पर्यटक भित्रयाउनका निम्ति हामी निजी क्षेत्र तयार छौँ ।’
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन हुनुपर्ने भन्दै आएका पर्यटकहरुलाई आफुहरु स्वागत गर्न तयार रहेको बताए । संगठनका निवर्तमान अध्यक्ष अनिल ज्ञवालीले महोत्सवमा आउने भारतीय पर्यटकहरुलाई रातिको समयमा सीमानाकाबाट सहज रुपमा आवतजावतको व्यवस्था मिलाइने बताए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्र्तगत स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती र डिजे समेत रहने आयोजकले जनाएको छ । संगठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले रात्रीकालिन बजार संचालनका लागि यस्तै किसिमका कार्यक्रमहरु आवश्यकता भएकोले कार्यक्रम गर्न लागिएको बताए ।

