
भैरहवा,४ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयले सबै सेवा एकै स्थानबाट प्रवाह गर्नका लागि घुम्ती शिविर सुरु गरेको छ । स्थानीयवासीहरुलाई सहजरुपमा वडास्तरबाटै पालिकाका सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको हो ।
वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले ओमसतिया वडा नम्बर ६ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताए। सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको उनको भनाइ छ ।
Advertisement

Advertisement
Advertisement

‘गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ’, उनले भने, ‘घर आँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ।’
गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको बताएन् । प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीका अनुसार क्रमशः पुस ३ गते वडा नं. ६ मा, ४ गते वडा नं. ५ मा, ५ गते वडा नं. ४ मा, पौष ९ गते वडा नं. ३ मा, पौष ८ गते वडा नं. २ मा र पौष ७ गते वडा नं १ मा शिविर हुने छ ।
उनले घुम्ती शिविरबाट विषयगत शाखा अन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण गरिने जनाए ।
कृषि शाखा अन्तर्गत नविनतम कृषि प्रविधि सम्बन्धि जानकारी, बाली उपचार तथा कृषि फर्म दर्ता नविकरण र पञ्जीकरण शाखा अन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्रको विषयमा जानकारी प्रदान गरिने कार्यालयले जनाएको छ ।

