
बर्दिया, ४ पुस । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव वन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माणबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका पदाधिकारीसँग छलफल गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्षसँग छलफल गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाको मृत्यु र आठजना घाइते भएको प्रदेश वन तथा वातावरण मन्त्रालयले जनाएको छ। जसमध्ये बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो ।
लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको छ ।

