


देउखुरी, ९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेकोले त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केली लगायतका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञान विज्ञान तथा सम्पदाहरुको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।

‘प्रदेशको विकासका लागि पर्यटनसँगै कला, साहित्य, संस्कृति, सम्पदाहरुको संरक्षण र विकासमा हामीले ध्यान दिन्छौं । यी विषय सरकारका प्राथमिकताका क्षेत्रभित्र पर्छन्’, उनले भने,‘यहाँहरुसँग प्रदेश सरकारसँगै जान चाहन्छ । साझेदारी गरेर अघि बढौं ।’
मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘मेरो रुचीको विषय पनि हो । साथीहरुसँग सरसल्लाह पनि गरेको छु । प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौं’,उनले भने,‘प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले कलाकृतिहरुको सिर्जना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरुको विविध विधाहरुमा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको बताए । भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए ।
देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाडाहरु विश्व बजारमा पुर्याउने, वार्षिक १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ ।

