


भैरहवा, ९ पुस। वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगीमा पर्ने क्रम बढेपछि त्यसलाई रोक्नका लागि सरकारले यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गरेको छ। थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायत देशमा जाने नेपालीहरुलाई आर्कषक तलब पाइने प्रलोभन देखाएर अवैध काममा लगाएर ठगी गर्ने घटना बढेपछि परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न/नगराउन परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायलाई सचेत पारेको छ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईलगायतका मुलुकहरुमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडी पुरएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो।
त्यसपछि परराष्ट्र मन्त्रालयबाट २०७९ पुस महिनामा यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गरेपछि उक्त क्षेत्रमा पुग्ने नेपाली नागरिकहरुको संख्यामा कमी आएको थियो । तर, हालका दिनहरुमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरुले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्याहरु देखिन थालेको मन्त्रालयले जनाएको छ ।
समस्यामा परेकाहरुले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम बढ्पछि मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो।
हेर्नुहोस् यात्रा सम्बन्धि सूचनाः


