
नवलपरासी, ९ पुस । नवलपरासी कारागारमा रहेका केही कैदीबन्दीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वको टोलीले अनुगमनको क्रममा कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहेको पाएपछि केहीलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको हो ।
कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि केही कैदीबन्दीको संख्या तत्काल स्थानान्तरण गर्नुपर्ने, थुनामा रहेका प्रायः युवा नै रहेकोले श्रम र रोजगारीको लागि व्यवस्था गर्नुपर्ने सुझाव दिइएको जिल्ला कारागार कार्यालय नवलपरासीका प्रशासक अर्जुनप्रसाद रेग्मीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

१ सय ७५ जना क्षमता रहेको उक्त कारागारमा ५ सय ५३ जना कैदीबन्दीहरु छन् । उनका अनुसार रुपन्देही, कपिलवस्तु सहित केही अन्उ जिल्लामा महिला कैदीबन्दी लाई राख्ने ठाउँ नभएकाले त्यस जिल्लाका महिला बन्दीलाई नवलपरासी नै पठाइने गरिएकोले कारागारमा महिलाको संख्या पनि बढेको छ ।
क्षमता भन्दा बढी रहेका कैदीबन्दीहरुको स्थानान्तरणका लागि विभागमा जानकारी गराइएपनि अन्य जिल्लामा पनि यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको हुनसक्ने उनको भनाइ छ ।

