
भैरहवा, १६ पुस। यसोदा फुड्स प्रालिले बुटवलस्थित कलिकानगरमा ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको छ । उद्योगका उत्पादित ८० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको हो। कम्पनीले ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याउने अवधारण अन्र्तगत मुलुकमा पहिलो पटक बुटवलमा संचालनमा ल्याएको हो ।
मंगलबारदेखि संचालनमा ल्याइएको ‘करेन्ट प्वाइन्ट’ मा सर्वसाधरणहरुले उद्योगद्धारा उत्पादित करेन्ट ब्राण्ड अन्र्तगतका विभिन्न परिकारका तयारीचाउचाउ,मसाला, चिप्स लगायत सामग्री खरिद गरेर लैजानुका साथै आफ्नो स्वाद अनुसारको पकाउन लगाएर खाना समेत सक्ने यसोदा फुड्स प्रालिका संचालक नरिश्वर पौडेलले बताए ।
‘हामीले ‘करेन्ट प्वाइन्ट’ मा उद्योगद्धारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेका छौँ’, उनले भने, ‘यहाँ सर्वसाधरणले इच्छा अनुसार कम्पनीको सामग्री खरिद गर्ने, स्वाद अनुसार पकाउन लगाएर, मेनुमा उपलब्ध चाउचाउ लगायतका परिकारहरु समेत अर्डर गरेर स्वाद लिन सक्ने व्यवस्थापन गरेका छौँ।’
Advertisement

Advertisement
Advertisement

दैनिक २४ घण्टा संचालनमा रहने उक्त ‘करेन्ट प्वाइन्ट’ मा उद्योगद्धारा उत्पादित विभिन्न परिकारप्रतिको सुझाव समेत संकलन गर्ने र आवश्यक सुझाव कार्यान्वयन गर्ने प्रा.लि.ले जनाएको छ ।

‘चाउचाउ खाने पनि अनेक तरिकाहरु छन् । जसलाई हामीले ‘करेन्ट प्वाइन्ट’ बाट पस्किने जमर्को गरेका छौँ’, यसोदा फुड्स प्रालिका निर्देशक मधुसुदन घिमिरेले भने, ‘सर्वसाधरणहरुले ब्राण्डद्धारा उत्पादित सामग्री रुचाएका छन् र यहाँबाट चखाउने नयाँ स्वादमा पनि रमाउने विश्वास छ ।’
करेन्ट प्वाइन्टको मंगलबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गरे । उनले रुपन्देहीमा रहेको उद्योगले अन्तर्राष्ट्रिय बजारमा स्वाष्टि, गुणस्तरीय र लाभदायक चाउचाउ उपलब्ध गराइरहेको भन्दै यसमा सबैले गर्व गर्नुपर्ने जनाए ।
‘राज्यलाई करोडौं कर तिरेको छ, हजारौं रोजगारी सिर्जना गरेको छ । यतिमात्रै होइन् सयौं किसानलाई अकबरे खुर्सानी लगायत उत्पादनमा केन्द्रित गरेर ती उत्पादन खरिद गरिरहेको छ’, उनले भने, ‘यो मुलुकका लागि राम्रो सन्देश हो । यो उद्योगको संरक्षण, प्रबद्र्धन र विकासमा सबैले साथ दिनुपर्छ ।’ उनले करेन्ट प्वाइन्ट धेरै उपभोक्ताको रोजाई बन्ने विश्वास गरे । ‘एकै ठाउँमा करेन्टका धेरै स्वाद लिन पाइने भएको छ । यस्ता प्वाइन्टले आर्थिक विकासमा पक्कै सहयोग पुग्नेछन् ।’
प्रालिद्धारा उत्पादित विभिन्न परिकारमा करेन्ट चाउचाउ, करेन्ट स्टिक्स, करेन्ट चिजबल्स, करेन्ट ओनियन रिंग्स, करेन्ट कप चाउचाउ, करेन्ट चिकन मसाला, करेन्ट जिरा, करेन्ट चिया लगायत ब्राण्डका खाद्यवस्तु करेन्ट प्वाइन्ट उपलब्ध छन् । करेन्ट ब्राण्डको तयारी चाउचाउ विश्वका ३० बढी मुलुकमा निर्यात हुँदै आएको छ । करेन्ट प्वाइन्टमा हाल १० जनाले रोजगारी पाएका छन् । यता उद्योगमा भने प्रत्यक्ष ३ सय बढी रोजगाररत छन् ।
यस्तै, किसान, डिलरसहित अप्रत्यक्ष रोजगारी भने ५ हजार बढीले पाएको उद्योगले जनाएको छ । नेपाली बजारमा करेन्ट माग र खपत राम्रो छ । उद्योगले बाह्य मुलुक मात्रै बर्सेनि एक अर्ब बढीको करेन्ट चाउचाउ निर्यात गर्दै आएको छ। मुलुकमा रुचाइएको र ग्राहकको स्वाद र सुझाव अनुसार मुलुकभर करेन्ट प्वाइन्ट संचालन गर्ने तयारी उद्योगको छ ।


