


दाङ, १९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । राप्ती गाउँपालिका–८, मिलनडाँडामा निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गरे ।
उनले यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने जनाए । ‘अमानवीय व्यवहारले मानिसलाई सडकमा पुर्याएको छ । यसखाले समस्या समाधानका लागि मानिसमा चेतना बढाउन जरुरी छ’, उनले भने, ‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ रु कारण खोजेर चेतना अभिवृद्धिका लागि ध्यान दिन जरुरी छ ।’

संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए । ‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामीले त्यो जिम्मेवारी निर्वाह गर्छौं’, उनले भने, ‘प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’
सरकार सबैको हो भन्ने महशुस गराउने गरी काम भइरहेको, मानव कल्याणका लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्दै उनले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ति भएको खण्डमा भवन निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाए । घरपरिवारमा मनाउने उत्सवहरु समेत आश्रममा पुगेर मनाउन उनले आह्वान समेत गरे ।
सभामुख तुलाराम घर्तीमगरले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताए । कानूनी जटिलता फुकाउँदै मानव कल्याणका कामहरुलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिए । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महशुस गर्नेगरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताए ।
प्रदेश सभा सदस्य इन्द्रजीत थारुले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी राज्यको भएको जनाए । राप्ती गाउँपालिकाले आयोजना गरेको उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष प्रकाश बिष्ट र निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाका लागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताए ।

