


काठमाडौं, १९पुस । गृहमन्त्री रमेश लेखकले परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्।
शुक्रवार गृह मन्त्रालयले आयोजना गरेको जिल्ला सुरक्षा समितिसँग भर्जुअल बैठकलाई सम्बोधन गर्दै उनले लागुऔषध नियन्त्रण,आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।

‘अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक-अर्कासँग सम्बन्धित छन्’, उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरेर लाग्नुहोस् ।’ उनले सीमामा हुने अपराध, चोरी, तस्करी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे।
मन्त्रालयले कानुनी,नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाडि बढाएको भन्दै उनले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए। ‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीससँग छ,’ उनले भने, ‘विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ।’
त्यसैगरी गृहसचिब गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए। भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहभागी थिए।

