
भैरहवा, १९ पुस। मारवाडी युवा दिवसको अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन केन्द्रीय समिति र यसअन्तर्गत रहेका मारवाडी युवा मंचहरुले मुलुकका २० सहरमा रक्तदान गरेका छन् । रगत अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यकासाथ मुलुकका मुख्य सहरहरुमा एकैपटक शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको मारवाडी युवा संगठन केन्द्रीय समितिले जनाएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले आफूहरुले विगतदेखि नै मारवाडी युवा दिवसका अवसरमा रक्तदान गर्दै आएको बताए । ‘यसपटक अलि बृहत् रुपमा रक्तदान गरेका छौं’, उनले भने, ‘सबै ठाउँमा उल्लासमय तरिकाले रक्तदान भएको छ । यसले पक्कै पनि रगतको अभाव भएकाहरुको ज्यान जोखिममा पर्नबाट बच्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’
Advertisement

Advertisement
Advertisement

उनका अनुसार संगठनको सहकार्यमा मारवाडी युवा मंच भैरहवाले आयोजना गरेको रक्तदानमा ७० पिन्ट रगत संकलन भएको छ । यस्तै, इनरवामा ६१, धनगढी ५८, काठमाडौंमा ५१, विराटनगर ४४, उर्लाबारीमा ४०, कलैयामा ४०, विर्तामोडमा ३९, धुलाबारीमा ३५, दुहबीमा ३५ र राजविराजमा गरिएको रक्तदानबाट पनि ३५ पिन्ट रगत संकलन भएको छ ।
यस्तै, नेपालगंजमा ३५, लहानमा २९, दकममा २६, जनकपुरमा २४, हनुमान नगरमा २३, नारायणगढमा २२, हेटौँडामा २०, वीरगंजमा ११ र भद्रपुरमा १० पिन्ट रगत संकलन भएको छ । यी सबै सहरमा गरी ७ सय ८ पिन्ट रगत संकलन भएको संगठनले जनाएको छ ।
‘हाम्रो लक्ष्य अधिक मात्रामा रक्त संकलन गर्ने थियो, उद्देश्यअनुसार रक्त संकलन गरेका छौं’, अग्रवालले भने, ‘समाजमा रचनात्मक काम गर्दै आएको संगठनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ ।’ उनका अनुसार संगठन केन्द्रीय समिति, युवा मंचहरुमा आबद्धले मात्रै नभई स्वःस्वफूर्त रुपमा उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, सम्बन्धित ठाउँका स्थानीयहरु रक्तदान गर्न आएका थिए ।
‘सबैको साथ र सहयोगले ठूलो मात्रामा रगत संकलन गरेका हौं’, उनले भने । उनले रक्तदान आयोजना गरिएका ठाउँमा सम्बन्धित जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले समन्वय गरेर सहयोग गरेको बताए ।

