
मुस्ताङ,२२ पुस । प्रहरीले मुस्ताङमा करिब सात करोड मूल्य बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाको ६ करोड ८१ लाख बढी मूल्य बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीका अनुसार कोरोला नाकाबाट जोमसोम हुँदै बेनीतर्फ जाँदै गरेको ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अवैध रुपमा सामान ओसारपसार गरेको आरोपमा ट्रक चालक विष्णु थापा, ट्रकधनी घ्याचो गुरुङ र टसी आया गुरुङलाई पक्राउ गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

नियन्त्रणमा लिइएको ट्रकबाट विभिन्न ३३ किसिमका सामग्रीहरु बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरुलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
उक्त ट्रकबाट ३३ प्रकारका सामान बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको डीएसपी बोगटीले बताए ।

