


भैरहवा, २४ पुस । भारतका बलिउड अभिनेता सलमान खानलाई ‘सुरक्षा थ्रेट’ बढेपछि मुम्बई स्थित ग्यालेक्सी अपार्टमेन्टमा बुलेटप्रुफ सिसा जडान गरिएको छ ।
गत अप्रिल महिनामा अभिनेता खानको अपार्टमेन्ट बाहिर गोली प्रहारको घटना भएको थियो । त्यसपछि उनी निकट बाबा सिद्दिकीको हत्या गरिएको थियो । साथै, उनलाई पटक-पटक आइरहेको धम्की लगायतका घटनालाई विश्लेषण गर्दै घरको बालकोनी क्षेत्रमा बुलेटप्रुफ सिसा लगाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

घटनाहरु पश्चात मुम्बई प्रहरीले अभिनेता खान र परिवारका सदस्यहरुलाई बालकोनी र सडकको झ्यालतर्फ नजान सुझाएपछि अभिनेता खानले बालकोनी क्षेत्रलाई सुरक्षित बनाउँदै बुलेटप्रुफ सिसा लगाएका छन् ।

महाराष्ट्र सरकारबाट ‘वाइ’ श्रेणीको सुरक्षा पाएका अभिनेता खान हाल सुरक्षाकाबीच ‘सिकन्दर’ फिल्मको छायांकनमा छन् ।

