
भैरहवा, २६पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शनिबार (भोलि) देखि चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । पुस २९ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता नगर भित्रका सामुदायिक र संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सर्वागिङ विकासका लागि लक्षित गरेर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।
शुक्रवार नगरपालिका कार्यालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नगरका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले सवै तयारी पुरा भएको जनाए । उनका अनुसार प्रतियोगिता सिद्धार्थनगर–१ स्थित पक्लिहवा मावि, पक्लिहवा कृषि क्याम्पस र वडा नं. ५ स्थित भैरहवा नमूना उच्च माविको खेल मैदानमा संचालन हुनेछ ।
Advertisement

Advertisement
Advertisement

प्रतियोगिताभर ४२ वटा इभेन्टमा खेल हुनेछन् । नगर भित्रका कुल २७ वटा बिद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ जना छात्रा गरि १ हजार २ सय ८९ जना बिद्यार्थी सहभागी हुनेछन् । उक्त प्रतियोगितामा तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल संचालन हुने छन् ।
सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँले भलिवलतर्फ १९ वटा बिद्यालयका छात्रहरुको १६ र छात्राहरको १६ वटा टिम, कबड्डीतर्फ १३ वटा बिद्यालयका छात्रहरुको ११ र छात्राहरुको १० वटा टिम तथा तेक्वान्दोतर्फ १५ बिद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ वटा टिमको सहभागिता रहने बताए ।
प्रतियोगिता संचालनका लागि तेक्वान्दोका लागि दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्रबहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई खेल संयोजक तोकिएको छ । प्रतियोगिताको उद्घाटन खेल पक्लिहवा कृषि क्याम्पसको मैदानमा हुने जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले प्रतियोगिता संचालनका लागि ६ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको जनाए ।

