


भैरहवा, २९पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा धन आर्जन गरेको भन्दै जलस्रोत तथा सिँचाइ विभागका पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०७७ असारसम्मको अवधिमा गैरकानुनी रुपमा करिब ५ करोड रकम आर्जन गरेको आयोगको प्रारम्भिक अनुसन्धान देखाएको छ।

उक्त अवधिमा श्रेष्ठले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपियाँको सम्पत्ति भेटिएको आयोगको जनाएको छ । आयोगले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गर्दै ४ करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।
आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै आयोगले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ।
लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरुसँग मिलेर कमिसन खाएको भन्दै पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध उजुरी परेको आयोगले जनाएको छ।

