
हृदयराम गुप्ता
मर्चवार, ३ माघ। पछिल्लो समय रुपन्देहीमा चोरीको घटना बढ्दो छ । नागरिकको धनमाल चोरी हुँदा केही घटनामा सफलता हात पारेको छ भने केही घटना महिनौँ बितिसक्दा समेत शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी अपराधी समात्नमा चुकेको छ ।
कहिले तस्करी गराउने त कहिले छिटफुट रुपमा तस्करीका सामान समातेर नियन्त्रणमा लागेको देखाउने ईलाका प्रहरी कार्यालय मझगाँवाले किसानले पसिना चुहाएर बचत गरेको रकम सहकारीबाट चोरी भएको पाँच महिना हुँदा समेत टुंगो लगाउन सकेको छैन । घटनामा प्रहरी रमिते बनेको स्थानीयको आरोप छ ।
Advertisement

Advertisement
Advertisement

गत साउन ३१ गते मर्चवारी गाउँपालिका–४ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा २३ लाख ११ हजार ४४ रुपैयाँ चोरी भएको दावी गरिएको छ । सहकारीमा चोरी गर्ने क्रममा दुई जना अपराधीको गतिविधि सीसीटिभी फुटेजमा कैद भएको छ । तर, प्रहरीले उनीहरुको कुनै सुँइको पाएको छैन ।
गत पुस २८ गते भएको सहकारीको साधारणसभामा शेयर सदस्यहरुले रकम चोरी घटनाप्रति संचालक समितिलाई प्रश्न तेर्सायाउँदै चोरी रकमको भर्पाईको हुनुपर्ने माग गरेका छन् । उनीहरुले भने ‘कर्मचारीको मिलोमतो हो कि कसको हो हामीलाई केही थाहा छैन, हाम्रो पैसा हामीले सुरक्षित राख्नका लागि जम्मा गरेका थियौँ । हामीले त्यो पैसा पाउनुपर्छ ।’ साथै, सभामा घटनाको अनुसन्धानमा भइरहेको ढिलाई र अपराधी पक्राउ नपरेको विषयमा समेत जवाफ माग गरिएको थियो ।
सहकारीका व्यवस्थापक दिनेश कुमार मौर्यले घटनाको छानबिनमा प्रहरीलाई पूर्ण सहयोग गर्दै आएपनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेको बताए । ‘अनुसन्धानमा हामीले नियमित समन्वय र सहयोग गर्दै आएका छौँ’,उनले भने,‘तर, घटनाबारे जानकारी माग्दा सधै एउटै ‘अनुसन्धान जारी रहेको’जवाफ पाउने गरेका छौँ ।’
उनका अनुसार राति घटना घटाएका व्यक्तिहरुमध्ये एक जना आर्थिक कारोबार विभागमा र अर्को लकर रहेको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेकोले उनीहरुलाई रकम भण्डारणस्थल बारे जानकारी भएको देखिएको छ । उक्त सहकारीको लकरबाट ६ लाख रुपैयाँ र दैनिक आर्थिक कारोबार गर्ने काउण्टरबाट १७ लाख ११ हजार ४४ रुपैया चोरी भएको उनको दावी छ ।
‘प्रहरी चौकीबाट डेढ सय मिटरको दुरीमा रहेको सहकारीमा ४ वटा ताला तोडेर रकम चोरी घटनाप्रति प्रहरी र स्वावलम्बन सहकारी समितिका सबै जिम्मेवार छन्’, स्थानीय समाजसेवी राजकुमार सिंहले भने,‘उक्त रकम धान, गाहुँ बेचेर आम्दानी गरेको गरिब किसान परिवारहरुको हो । तसर्थ उक्त घटनाको अपराधीलाई पक्राउ गरी कारवाही र किसानहरुको रकम फिर्ता हुनुपर्छ ।’
स्वावलम्बन सहकारीका सदस्य सुग्रीम यादवले घटनाको अनुसन्धान फितलो भएको बताए । उनले चोरी भएको रकम शेयर सदस्यलाई फिर्ता दिलाउन जनप्रतिनिधिहरुले पनि चासो नदेखाएको गुनासो पोखे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले प्रहरी खटाएर सहकारीमा आवतजावत गर्ने र कारोबार गर्नेहरुको अभिलेखीकरण लगायत विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।
‘कुनै शंकास्पद व्यक्ति भए हामी उक्त व्यक्तिबाट अनुसन्धान सुरु गर्ने थियौं, तर अहिले सम्म स्वावलम्बनले शंकास्पद व्यक्तिको नाम दिन सकेकौ छैन’, उनले भने, ‘विभिन्न अभिलेख तथा सीसीटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गर्नुपर्ने भएकाले अपराधी पत्ता लगाउन समय लागेको हो ।’
करिब १ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीको १६ करोड कुल पुँजी छ । ११ करोड १२ लाख ऋण लगानी भएको उक्त सहकारीमा हाल व्यवस्थापक सहित ४ जना कर्मचारी कार्यरत छन् ।

