
क्यान्सर रोगको उपचारका लागि यस क्षेत्रका विरामीहरु काठमाडौं, चितवन, भारतमा पुग्नुपर्ने बाध्यता छ । पैसाको खर्च त्यसैमाथी लामोदुरीको ओहोरदोहार यात्रा गरिरहनुपर्ने अर्को समस्या छ । पैसा भएर पनि विरामीहरुले उपचारका लागि पनि दुःख खेप्नु परेको छ । यी सबै समस्यालाई मध्यनजर गर्दै भैरहवा क्षेत्रको सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्धक निर्देशक अर्जुन पौडेल नेतृत्वको टिमले भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल संचालनमा ल्याउन थालेका छन् । प्रस्तुत छ, क्लिक लुम्बिनीले यही विषयमा केन्द्रित रहेर अस्पताल निर्माणको तयारीको बारेमा संचालक पौडेलसँग गरेको सारसंक्षेप कुराकानी ।
भैरहवामा यहाँको नेतृत्वमा क्यान्सर अस्पताल संचालन ल्याउनेमा तयारी गरिरहनुभएको छ, तयारी कहाँ सम्म पुग्यो त ?
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हो, हामीले भैरहवा क्षेत्रमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल नामबाट अस्पताल निर्माणको प्रक्रिया थालेको छौ । मेरो आमा सुमित्रा उपाध्यायको स्मृतिमा बन्ने यस अस्पतालको भवन निर्माणको लागी नक्साङ्कन, वातावरणीय प्रभाव मुल्याङ्कनको काम भइसकेको छ । अन्य कागजी प्रक्रियाहरु पनि भइरहेका छन् । साढे दुई बिगाहा क्षेत्रफलमा बन्ने अस्पतालको अब केही समयपछि निर्माणको काम सुरु हुन्छ ।
त्यसो भए ठ्याक्कै भन्नु पर्दा अस्पताल निर्माण कहिले देखि सुरु हुन्छ त ?हामी अहिले कागजी प्रक्रियाका कामहरुमा छौँ । लगभग टुंगो लागिसकेको छ । अबको केही महिना पछि अस्पतालको पूर्वाधार निर्माणको कार्य सुरु गर्छौ । ठ्याक्कै भन्नुपर्दा २०८२ बैशाखबाट हामीले निर्माणको काम सुरु गर्छौ र २०८३ बैशाख देखि अस्पताल संचालनमा ल्याउने हाम्रो लक्ष्य छ ।
भैरहवामै अस्पताल खोल्ने निर्णयमा किन पुग्नुभयो ?
निकै राम्रो प्रश्न गर्नुभयो । हेर्नुस् यस क्षेत्रमा क्यान्सर अस्पताल छैनन् । प्राणघातक रोग लाग्ने विरामीहरुको उपचारमा पैसा खर्च त हुन्छ नै त्यसैमाथी यस क्षेत्रबाट बाहिर गएर उपचार गराउनु पर्ने अर्को दुःख छ । मेरो आमाको पनि क्यान्सर रोगबाट मृत्यु भएको थियो । आमाको राम्रो उपचारका लागि बाध्यताबस हाम्रो परिवार दिल्ली पुग्नुपरेको थियो । यस्तो अवस्था कसैलाई नआओस् । त्यसैले यसको अन्त्य हामीले नै गर्नुपर्छ भन्ने ध्येयका साथ र भैरहवामा रहेर भैरहवाका लागि हामीले नै केही नगरे कसले गर्ने त ? आफ्नै स्थललाई अझै माथी पुर्याउनका लागि हामीले यही नै अस्पतालमा निर्माण गर्ने निर्णयमा पुगेका हौँ ।
क–कसको साथले कति लगानीमा अस्पताल निर्माण गर्न लाग्नुभएको हो ?
हेर्नुस् यहाँ अस्पताल निर्माण गर्नु नै महत्वपूर्ण विषय हो । यस क्षेत्रमा अस्पताल निर्माण भएपछि विरामीहरुलाई सुलभ शुल्कमा हामीले सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो धारणा बनाइसकेका छौँ । अमेरिका लगायतका विदेशमा काम गर्नुभएका केही विशेषज्ञहरुको अस्पताल निर्माण लगानी र साथ छ । नाम नै भन्नुपर्दा म सहित संयुक्त राज्य अमेरिका (युएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक बिशेषज्ञ डा.सागर पोखरेल, युरोपमा कार्यरत युवा ब्यवसायी हरी खत्री, बेलायतमा रहेका गोकर्ण खड्का छौँ । लगानीको कुरा गर्दा अस्पताल संचालनमा ल्याउनका लागि १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ । क्यान्सर रोगबाट परिवारका सदस्य गुमाएका वा क्यान्सर पीडितको परिवारले पनि अस्पतालमा लगानी गर्ने इच्छा छ भने हामीले उहाँहरुका लागि त्यो ढोका पनि खुल्ला राखेका छौँ ।
यस क्षेत्रमा क्यान्सर अस्पतालको कस्तो सम्भावना देख्नुहुन्छ ?
हेर्नुस् मैले अघि नै भनिसके यस क्षेत्रमा क्यान्सर अस्पताल छैन । धनगढी देखि नारायणघाट सम्म क्यान्सर रोगको उपचार सेवा छैन । यस क्षेत्रका विरामीहरु लामो दुरीको यात्रा तय गरेर दुःख खेप्दै नेपालको काठमाडौ, चितवन, भारतमा जानुपर्ने बाध्यता छ । अस्पताल नहुँदा सुरुमा नागरिक भौतारीनु परेको अवस्थामा छ । हाम्रो क्षेत्र अन्तर्राष्ट्रिय सीमा क्षेत्र भएकोले नजिकै भारतको उत्तर प्रदेश राज्य र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल पनि भएको धेरै सम्भावना देखेका छौँ । र, यी सबै विषयलाई मध्यनजर गर्दै यस क्षेत्रमा अस्पताल निर्माणको योजना बनाइएको हो । अस्पताल संचालनमा आएपछि यस क्षेत्रका नागरिकले सस्तो र सहज रुपमा उपचार सेवा पाउनेमा हामी विश्वस्त छौँ ।
अस्पताल कति क्षमताको हुन्छ र यसका विशेषताहरु के–के हुन् ?
पहिलो चरणमा अस्पताल एक सय शैय्या क्षमताको हुन्छ र पछि दुई सय शैय्याको बनाउने हाम्रो योजना छ । प्राणघातक रोगालाई जित्ने प्रयास गरिरहेका विरामीहरुलाई चर्को शुल्कको हामीले थप मारमा पार्ने योजना छैन् । अस्पतालको पहिलो विशेषता नै सबै किसिमका विरामीहरुले सेवा लिन सक्ने गरी सर्वसुलभ हुनेछ । अर्थात उपचार सेवा सस्तो दरमा प्रवाह गर्ने हाम्रो योजना छ । अर्को कुरा विदेश र स्वदेशका अनुभवी चिक्तिसबाट अस्पतालमा नयाँ प्रविधिका अत्याधुनिक उपकरणहरु मार्फत सेवा प्रवाह हुनेछ ।
अस्पताल निर्माणको तयारी गरिरहँदा सरकारी पक्ष र स्थानीयबाट साथ, सहयोग र प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
स्थानीयस्तर र सरकारबाट सहयोग भएको छ । अस्पताल निर्माणका लागि विगतका दिनमा हामी कागजी प्रक्रियामा थियौँ । र, अब स्थानीयस्तर र सरकारबाट बढी सहयोग लिने अवस्था रहेको छ । अस्पताल निर्माण र संचालन भैरहवाका लागि गौरवको विषय भएको हुँदा सबै क्षेत्रबाट आवश्यक सहयोग हुने नै छ भन्ने अपेक्षा राख्दछौँ ।
पछिल्लो समय भैरहवा क्षेत्र ठूला अस्पतालहरुको हब बनिरहेको छ, यो भीडमा यहाँहरुले क्यान्सर अस्पताललाई कसरी आमनागरिकमाझ विश्वसनीय बनाउनुहुन्छ ?
हो, भैरहवा क्षेत्र मेडिकल हबको रुपमा स्थापति हुँदै गइरहेको छ । यहाँ सिद्धार्थनगर सिटी अस्पताल, मेडिकल कलेज (यूसीएमएस), आँखा अस्पताल लगायत संचालनमा छन् । रुपन्देहीका साथै भारतमा, नेपालका विभिन्न जिल्लाबाट विरामीहरु उपचारका लागि आउने गरेका छन् । र, यही भीडमा हामीले यसै क्षेत्रमा क्यान्सर अस्पताल संचालन ल्याउँदा यस क्षेत्रको लागि कोसे ढुंगा सावित हुनेछ । मैले अघि पनि भनिसके हामीले अस्पतालमा आउने विरामीलाई सुलभ र सस्तो मूल्यमा दक्ष चिक्सिकबाट अत्याधुनिक उपकरणको माध्यमले उपचार सेवा प्रवाह गर्ने छौँ । हामीले सुरुवाती चरणदेखि नै गुणस्तरीय लगायत सेवा प्रवाह गरेर नागरिकमाझ विश्वास कमाउने हिसाबले काम गर्ने छौँ ।

