


धरान, ७ माघ। सुनसरीको धरान उपमहानगरपालिका-१५ मा एक युवकको हत्या गरिएको छ ।
साथीहरुबीच बसेर खाएको चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा धरान सदन रोडका २१ वर्षीय रिजन राइको खुकुरी प्रहार गरी हत्या गरिएको प्रराम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।

उनका अनुसार गम्भिर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।
हत्यामा संग्लन आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, उपमनपा-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र उपमनपा-५ का २१ वर्षीय सुदिप तामाङलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

