


काठमाडौ, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँ विकास समिति सचिव आस महमद अन्सारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर हाल (जीतपुर सिमरा उपमहानगरपालिका) बाराका तत्कालीन सचिव अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहररु लुकाइ बरबुझारथ समेत नगरेको र २ सय २१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ।
आयोगका अनुसार धरौटी वापत विभिन्न २ सय २१ जनासँग लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको र नोक्सान गरेको पुष्टि भएको हुँदा अन्सारीलाई भ्रष्टाचार ऐन,२०५९ को दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय समेतको माग दावी गर्दै अभियोग पत्र दायर गरिएको हो ।

