
भैरहवा, १० माघ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा बुधवार अभियुक्त (रवि लामिछाने) लाई प्रहरी हिरासतमा किन नराखिएको भन्दै इजलासमा प्रश्न गरिएको छ ।
मुद्दामा बुधवार लामिछानेको बयान सकिएपछि बिहीवार बिहान साढे १० बजे हाजिर हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा उनलाई छाडिएको थियो ।
Advertisement

Advertisement
Advertisement

बिहीवार बिहान अदालतमा लामिछाने हाजिर भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस जारी छ ।
मुद्दामा थुनछेक बहस सुरु भएपछि वादी (पीडित) का तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधवार इजलासमा अभियुक्तलाई प्रहरी हिरासतमा किन नराखिएको र हिरासत राखेर थुनछेक बहस सुरु गर्नुपर्ने लगायत विषयमा बहस गरेको स्रोतले बतायो । अदालतले अन्य मुद्दाको यस्तै प्रक्रियामा भने अभियुक्तलाई थुनामा पठाउने गरेको छ ।
स्रोतका अनुसार अहिले वादीकै तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । वादी तर्फको बहसपछि प्रतिवादीतर्फको बहस हुनेछ । दुवै तर्फका बहस सकिएपछि अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधरण तारेख राख्ने मध्य एक आदेश आउनेछ । बहस आजै सकिने वा नसकिनेमा टुंगो छैन ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।

