


भैरहवा,३० भदौ। भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा अत्यावश्यक सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न नुवाकोट–रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाइएको छ।
रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रुपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२, तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५, वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो।

पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक संजालमार्फत सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको बताएका छन्।
उनका अनुसार बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक सडक मार्ग तयार हुनेछ। यसले हाल सडक सञ्जालबाट विच्छेद भएको रसुवासम्म आवतजावत तथा सामान ढुवानी सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने बताइएको छ।

