


भैरहवा, ३० भदौ । रुपन्देही जिल्लासँग जोडिएको भारतको सीमावर्ती जिल्ला महाराजगञ्जमा प्रहरी अधिकारीहरुको सरुवा गरिएको छ।
जिल्लाको कानून व्यवस्था थप सुदृढ र प्रभावकारी बनाउने तथा प्रशासनिक आवश्यकतालाई ध्यानमा राख्दै महाराजगञ्जका एसपी शक्ति मोहन अवस्थीले एकैपटक एक प्रहरी निरीक्षकसहित २९ जना प्रहरी अधिकारीको सरुवा गरेका हुन्।

सरुवा हुनेमा ८ जना इलाका प्रहरी कार्यालय (थाना) का प्रमुख तथा २१ जना प्रहरी चौकी प्रमुख र इलाकाका ‘सेकेण्ड म्यान’ हरु रहेका छन्।
सरुवा सूचीअनुसार, रुपन्देहीको सबैभन्दा ठूलो नाका बेलहियासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र सोनौली र नौतनवाका प्रहरी प्रमुख पनि फेरिएका छन्। भारतीय प्रहरीका लागि यी क्षेत्रहरु आकर्षक मानिन्छन्।
सोनौली थाना प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रहरी उपनिरीक्षक महेन्द्र कुमार मिश्रलाई त्यहाँबाट श्यामदेउरवा थानामा सरुवा गरिएको छ। उनको स्थानमा सिंदुरिया थानाका प्रहरी उपनिरीक्षक विशाल कुमार शुक्लालाई सोनौली थानाको जिम्मेवारी दिइएको छ।
त्यस्तै, महाराजगञ्जको घुघली थानाका प्रमुख प्रहरी उपनिरीक्षक सुरज कुमारलाई त्यहाँबाट सरुवा गरी नौतनवा थानाको प्रमुखको जिम्मेवारी दिइएको छ।
यसैगरी कोल्हुई, ठूठीबारी, जनसुनवाई सेल र मिठौरा इलाका प्रहरी कार्यालयका प्रमुखहरुको पनि फेरबदल गरिएको छ।
त्यस्तै, पुरन्दपुर, लक्ष्मीपुर, परसामलिकलगायत विभिन्न प्रहरी चौकीका प्रमुख तथा इलाका प्रहरी कार्यालयका ‘सेकेण्ड म्यान’ हरुको समेत सरुवा गरिएको छ। बेलहिया–सोनौली नाका दुवै देशका लागि महत्वपूर्ण भएकाले सीमापारि प्रहरी नेतृत्वमा भएको फेरबदल सीमा सुरक्षा, आवागमन व्यवस्थापन र सीमावर्ती अपराध नियन्त्रणका दृष्टिले महत्वपूर्ण मानिन्छ।

