
भैरहवा, १० माघ । रुपन्देहीमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइने भएको छ ।
एच.पि.भी.खोप अभियान–२०८१ अन्तर्गत रुपन्देहीमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । उनले एकजना पनि किशोरी नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने दावी गरे ।
Advertisement

Advertisement
Advertisement

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा विश्व क्यान्सर दिवसका दिन माघ २२ देखि माघ २९ गतेसम्म बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा तथा माघ २२ देखि २७ गतेसम्म सैनामैना नगरपालिका, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप अभियान सञ्चालन हुनेछ ।
त्यस्तै जिल्लामा दोस्रो चरण अन्तर्गत फागुन १ देखि ६ गतेसम्म देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया, रोहिणी, सम्मरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान चल्नेछ । पहिलो र दोस्रो चरण गरी १ हजार ४७ खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालयबाहिरका १० वर्ष देखि १४ वर्ष उमेरका सबै किशोरीहरुलाई लगाइनेछ ।
भीम अस्पताल भैरहवाको प्रमुख मेडिकल सुपरीटेण्डेण्ट (मेसु) एच.पि.भी.खोपले एच.पि.भि. भाइरससँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास गर्ने बताइन् । उनले महिलाले वर्षमा कम्तीमा एकपटक पाठेघरको मुखको क्यान्सर जाँच गर्नुपर्ने बताइन् ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले खोपबारे अभिभावकलाई सचेतना प्रदान गर्नुपर्नेमा जोड दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेको बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईंले एच.पि.भी. खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

