
भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश गरेको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको बिहिवार देखि सरु भएको थुनछेक बहस आइतबार सकिएपछि अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
Advertisement

Advertisement
Advertisement

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले मुद्दाको प्रतिवादी लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । लामिछाने धरौटी बुझाएपछि रिहा हुनेछन् ।
आइतबार थुनछेकको जवाफी बहसमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र जाहेरवालाको तर्फबाट अधिवक्ता रमन कुमार कर्णले गरेका थिए ।
उनीहरुले जाहेरी दरखास्तहरु, जिसीएस बैंकिङ सफ्टवेयर प्रणाली, सहकारीको डे बुक, आन्तिरक बैंक भौउचर, बैंक स्टमेन्ट लगायत तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडी बढाउन आदेशको माग गरेका थिए।
त्यस्तै प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्दै सहकारी संचालक समितिमा नै नरहेको र अन्यले अपचलन गरेको रकमको जिम्मा आफ्नो पक्षको नहुने भएको लगायत विषय राख्दै साधरण तारेखमा राखेर मुद्दाको पूर्पक्षको आदेशको माग गरेका थिए ।
गत माघ ६ जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोग पत्रबाट लामिछानेसहित २२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि माघ ९ गते लामिछाने अदालतमा हाजिर भएका थिए ।
सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण छुट्टाछुट्टै मुद्दामा ४२ जनालाई प्रतिवादी बनाइएको छ । यी प्रतिवादीहरुबाट कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ मागदावी गरिएको छ ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा जिल्ला अदालत कास्कीमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

