


भैरहवा, १४ माघ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पत्रकार मनोरन्जन शर्मा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालय, रुपन्देहीको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार बेलहियामा आयोजित कार्यक्रममा पत्रकार शर्मालाई पुरस्कृत गरिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थी लगायतले पत्रकार शर्मालाई नगदसहित सम्मान पत्र, खादा र मालाले सम्मान गरेका हुन् ।

भैरहवा भन्सार कार्यालयबाट सम्पादन भएका कार्यहरु सकारात्मक रुपमा सम्प्रेषण गरी कार्यालयका गतिविधि प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै शर्मालाई पुरस्कृत गरिएको हो । विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शर्मा न्यूज ओके र कारोबार दैनिकमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार समेत हुन् ।

