
भैरहवा, १४ माघ । खुला सीमानाको उचित व्यवस्थापन र भन्सार सम्बन्धि कानुन संशोधन गरेर राजस्ववृद्धि गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । खुला सीमानाका कारण राजस्व चुहावट भइरहेकोले त्यसको व्यवस्थापनका लागि भन्सार विधेयक संशोधन नगरी नहुने अवस्था देखिएको उनीहरुको भनाइ छ ।
प्रतिनिधि सभाको अर्थ समितिका सभापतिसहितका सदस्यहरु, लुम्बिनी प्रदेशका भन्सार प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु निजी क्षेत्रका प्रतिनिधिहरुको संयुक्त छलफलले वस्तुको भन्सार मूल्यांकन, सवारीसाधन चेकजाँच र भन्सार प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
Advertisement

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा आयोजना गरेको खुल्ला सीमाना र यसले पारेको प्रभाव विषयक बृहत अन्तरक्रिया कार्यक्रममा अर्थ समितिका सभापति सन्तोष चालिसेले ब्यवसायीले उठाएका गम्भीर विषयहरुलाई समावेश गरेर भन्सार विधेयक संशोधन गरिने बताए ।
भन्सार मूल्यांकनलाई अन्तर्राष्ट्रिय अभ्यासका आधारमा वैज्ञानिक बनाउने, वस्तुको गुणस्तर जाँचका लागि छुट्टै यूनिट स्थापना गर्ने, खुला सीमानालाई व्यवस्थित गर्ने र गाडी जाँचपासका लागि अत्याधुनिक प्रविधि जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भन्सार विधयेकलाई सर्वस्वीकार्य बनाउन अर्थ समिति देशभरीका भन्सार नाकाहरुको अवलोकनमा रहेको जनाए ।
‘हाम्रा व्यवसायहरुलाई कसरी सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ ? चोरी निकासी रोक्ने उपाय के हुन् ? र, निर्यातलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ? भन्ने विषयमा अध्ययन गरेर कानून बनाउनेछौं’ उनले भने–‘भन्सार विधेयकलाई हामीले आगामी दिनमा कसैले चिन्ता लिन नपर्ने गरी संशोधन गछौं । हामी सबैको चिन्ता कसरी मुलुकको राजस्व बढाउने र निर्यात प्रवद्र्धन गर्ने नै हो ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राजस्व चुहावट र तस्करी नियन्त्रणमा देखिने गरी काम भएको दावी गरे । उनले तस्करीलाई छुट दिने कुरा मान्य नहुने जिकिर गर्दै खुल्ला सीमालाई चुनौतीको रुपमा मात्र हेर्दा र अवसरको रुपमा परिणत गर्न नसक्दा मात्रै चुनौती भएको बताए ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरलले सीमावारीको बजार सुनसान र सीमापारीको बजार गुल्जार हुनु खोजीको विषय भएको बताए । ‘केही वर्ष पहिला नेपाली बजारमा सामान किन्न भारतीय ग्राहकको घुँइचो हुन्थ्यो, तर, पछिल्लो समय यसको ठीक उल्टो भएको छ’उनले भने–भारतीय बजार नेपाली ग्राहकले भरीभराउ भएका छन्, यो खोजीको विषय हो ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार गराउनुपर्ने व्यवस्थालाई सम्पूर्ण भन्सार नाकामा अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

