


भैरहवा, १४ माघ। रुपन्देही जिल्लामा १ सय ७१ जना कुष्ठरोगका बिरामी छन् । ०६६ माघमा नेपालमा कुष्ठरोग उन्मुलनको घोषणा गरिएको थियो । उन्मुलनको घोषणा अनुरुप प्रति १० हजार जनसंख्यामा १ प्रतिशत भन्दा कम बिरामी कम संख्या हुनु पर्नेमा रुपन्देही लगायत् १८ वटा जिल्लामा यो रोगका बिरामी धेरै संख्यामा छन् ।
७२ औं बिश्व कुष्ठरोग दिवशका अवसरमा स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको जनचेतनामूलक एक कार्यक्रममा कुष्ठरोगको चेकजाँच तथा उपचारमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला पर्ने गरेको जनाइएको छ ।

‘कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नेतर्फ धेरैको चासो कम छ’, स्वास्थ्य कार्यालय, रुपन्देहीका बरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले भने, ‘स्नायु प्रणालीमा असर पुर्याइ शरीरका अंगहरु नै अंगभंग गराउने यो रोग समयमै उपचार तथा नियमित औषधि सेवन गरे पूर्ण सञ्चो हुन्छ ।’
गत आवमा १ सय ६० जना कुष्ठरोगका बिरामी रहेको रुपन्देहीमा यस बर्षको साउन यता पुस महिनासम्ममा थप ८० जना नयाँ बिरामी फेला परेका थिए । यस अवधिमा १ सय ७१ जना बिरामी उपचाररत रहेको र अन्य निको भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा सबैभन्दा धेरै ओमसतिया गाउँपालिका, गैडहवा, मायादेवी गाउँपालिका, सैनामैना, देवदह र तिलोत्तमा नगरपालिकामा कुष्ठरोगका बिरामी छन् । पछिल्लो पटक शुद्धोधन, मायादेवी, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकामा र बुटवल उपमहानगरपालिकामा धेरै नयाँ बिरामी फेला परेका छन् ।
कुष्ठरोगका बिरामी र बिरामीको सम्पर्कमा आएका व्यक्तिको खोज कार्यक्रमलाई प्रभावकारीताका साथ निरन्तरता दिइएको अधिकारीले बताए । कुष्ठरोग चिकित्सक स्वर्णिम ज्ञवालीले प्रतिरोधात्मक क्षमता कम भएका व्यत्तिलाई कुष्ठरोग अर्को व्यक्तिबाट सर्ने गरेको र समाजमा अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउँदा श्वासप्रश्वासको माध्यमबाट परिवार तथा अर्कोलाई सर्ने क्रम जोखिमका रुपमा बढ्दो भएको बताए ।

