
हृदयराम गुप्ता
मर्चवार, १४ माघ। रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ स्थित विद्यालय भवनको निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् । जसकारण निर्माण कार्य रोकिन पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेटमा श्री मार्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको चार कोठे भवन स्थानीयहरुले बिरोध गर्दै निर्माण कार्य बन्द गराएका हुन् ।
Advertisement

Advertisement
Advertisement

स्थानीय समाजसेवी गुरुवचन यादवले निर्माणमा प्रयोग गरिएको बालुवा र इट्टा कमसल हुनुको साथै सिमेन्टको मात्रा समेत कम रहेको बताए । ‘सरोकारवालाको अनुमगन नहुँदा निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको छ’, उनले भने, ‘स्थानीय, अभिभावकसहित हाम्रो नजरमा परेपछि निर्माण स्थलमा जाँदा कमसल सामाग्री प्रयोग गरेको पाइएपछि कमसल सामाग्री प्रयोग गरि निर्माण गरिएको भित्ता भत्काएका छौँ ।’
उनले कमसल सामाग्रीको प्रयोगले बनाइएको संरचाना कमजोर विद्यार्थी र शिक्षक जोखिममा रहने बताउँदै गुणस्तरीय सामाग्रीको प्रयोग नभएसम्म निर्माण हुन नदिने बताए । निर्माण स्थलमा संचालित योजनाको जानकारीका सम्बन्धमा कुनै सूचना पाटी समेत लगाइएको छैन ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर हरि बिष्टले कमसल सामाग्री प्रयोग भएको जानकारी पछि कार्य बन्द गरी जाँचबुझको प्रक्रिया आगाडी बढाइएको बताए । उनले भने ‘कमसल सामाग्रीबारे प्राविधिक टोलीसंग ल्याब जाँचको लागि काम सुरु भएको छ । ल्याब र नाँपजाँचको रिपोर्ट नआएसम्म काम बन्द राख्ने निर्देशन दिएका छौँ ।’
भवन निर्माणको लागि ठेक्का लिएको रोयल एसके निर्माण सेवा गैडहवा–७ का संचालक फागू कुर्मीले अनुमानित अनुसारकै सामाग्री प्रयोग गरको दाबी गरे । ‘६/१ को मसाला बनाउने स्टिमेट भएको छ सोही अनुसार काम गरेका छौँ’, उनले भने ‘अधिक शीतलहरले गर्दा एक दिन अगाडी जडान भएको भित्ता नसुकेर मात्रै ढलेको हो । बालुवा अलिकत मासिनो हुन गएको छ त्यो म सुधार्नेछु बाकी कुनै कार्य कमसल छैन ।’
भवन निर्माण स्थलमा योजनाका सम्बन्धमा सूचना बोर्ड तत्काल राख्ने उनको भनाई छ ।

