
भैरहवा, १६ माघ। भारतको प्रयागराजमा आयोजित कुम्भमेलामा भागदौड हुँदा १४ जनाभन्दा बढीको मृत्यु भएको र ५० जनाभन्दा बढी सर्वसाधरण घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु भएका १४ जनाको शव पोस्टमार्टमको लागि रानी अस्पतालमा ल्याइएको दैनिक भास्करमा उल्लेख छ। मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी दिइएको छैन ।
Advertisement

Advertisement
Advertisement

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा नै आज हुने मौनी अमावस्या (औंसी)को अमृत स्नान रद्द गरेका थिए। यसपछि अखाडाहरूले बैठक गरेर बुधवार बिहान १० बजेपछि अमृत स्नान गर्ने निर्णय गरिएको छ।
प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा जानकारी लिएको जनाइएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थानतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनेरछ, त्यहीँनेर स्नान गर्न आह्वान गरेका छन् । उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन पनि अनुरोध गरेका छन् । हल्लाका कारण संगम नाकमा भागदौड मच्चिएर उक्त घटना भएको बताइएको छ ।
संगम नाकन क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको थियो। भीड अझ बढ्न नदिन, भक्तजनहरूलाई प्रयागराज शहरमा पनि प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। यसका लागि शहरको सीमासँग जोडिएका जिल्लाहरूमा प्रशासनलाई सतर्क राखिएको छ।
आज महाकुम्भमा मौनी अमावस्या स्नान छ। जसका कारण शहरमा करिब ५ करोड भक्तजनहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। स्थानीय प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ वटा घाटमा ८ देखि १० करोड भक्तजनले पवित्र स्नान गर्ने अपेक्षा गरिएको छ।

