


परासी, १८ माघ। पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषधसहित व्यक्तिलाई नियन्त्रणमा लिन खोज्ने क्रममा चार राउण्ड गोली प्रहार गरेको छ । जसमध्ये एक राउण्ड गोली रामग्राम नगरपालिका–१२ पचगाँवाका ५२ वर्षीय राजेश लोनियाको बायाँ साप्रामा लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार लोनियाको घरमा लागुऔषध बिक्री वितरणका भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा खटिएको पाँच जनाको टोलीले लोनियलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पेस्तोल खोस्न र भाग्नमा खोज्दा गोली प्रहार गरिएको हो ।

उक्त स्थानबाट ९३ पुरियामा (ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ) लागुऔषध बरामद भएको डीएसपी बोहराले बताए ।
गोली लागेर घाईते भएका लोनियाको भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा उपचार भइरहेको र लागुऔषध किनबेचमा संग्लन एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

