


काठमाडौ, २० माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसन्धानका क्रममा प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारको मिलेमतोमा भवन निर्माण सम्पन्न पछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आरोप पत्र दायर भएको हो।
उनीहरु केही समयअघि सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। सोही रकम बराबरको बिगो र जरिवाना सजायको माग गरिएको विशेष अदालतमा दायर भएको आरोप पत्रमा उल्लेख छ।

