
भैरहवा, २१ माघ । रुपन्देहीको ओमसतिया गाउँपालिकाले अगामी फागुन १ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाउने भएको छ।
ओमसतिया गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपीभी खोप अभियान अन्र्तगत पालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारी, संचारकर्मी, विधालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण गोष्ठीमा पालिकामा खोप अभियानका साथै प्रचारप्रसार, खोपबारे जानकारी गराइएको थियो ।
Advertisement

Advertisement
Advertisement

संघीय सरकारले अभियानका रुपमा संचालन गरेको खोप कार्यक्रमलाई ओमसतियामा फागुन १ गते देखि फागुन ६ गतेसम्म सचांलन गर्न लागिएको हो । अभियान अन्तरगत विद्यालयमा अध्यनरत एक हजार दुई सय ६५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । पालिकामा कक्षा ६ देखिका विधालयहरुमा खोप केन्द्र रुपमा संचालन गरिनेछ ।
कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने उनले बताए । एचपीभी खोपलाई प्रभावकारी बनाउन बिद्यालय, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुखिकरण कार्यक्रम राखिएको छ।
स्वास्थ्य शाखाका अनुसार पालिकाको विद्यालयमा अध्यनरत वडा नं. १ का ३९८, २ का ९०, ३ का ११४, ४ का २६४, ५ का २७० र वडा नं. ६ का १२९ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । यसबाहेक ईट्टा उद्योगमा कार्यरत सहित विद्यालयमा बाहिर रहेका अनुमानित २ सय ६० जनालाई किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको ओमसतिया गाउपालिकाको नर्सिंग अधिकृत सस्मिता खत्रीले बताइन् ।
गाउपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले एचपीभी खोप बारे अभिभावकलाई सचेतना प्रदान गरेर अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । नेपालमा महिलामा सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समूह नछुट्ने गरी खोप केन्द्र तोकिएको र सोही अनुसार तयारी गरिएको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले बताए।
ओमसतिया गाउपालिकाको नर्सिंग अधिकृत सस्मिता खत्रीको संचालनमा सम्पन्न भएको कार्यक्रममा पालिका उपाध्यक्ष सुनिता चौधरी, बिद्यालयका प्रधानाध्यापक, पालिकास्तरीय खोप समन्वय समितीका सदस्य लगायत सरोकारवालाहरुको सहभागिता थियो ।

