
भैरहवा, २८ माघ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले थुनछेक बहसपछि जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले बताए ।
Advertisement

Advertisement
Advertisement

‘मुद्दाका प्रतिवादी रहेका जोशी सोमबार अदालतमा उपस्थित भएका थिए’, उनले क्लिक लुम्बिनीसँग भने, ‘थुनछेक बहस पछि कसुर नगरेको विश्वास गर्नूपर्ने मनासिब आधार नदेखिदाँ पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश भएको छ ।’
थुनछेक बहसमा वादी (पीडित) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सह न्यायधिवक्ता गोकर्ण घिमिरे र प्रतिवादीको तर्फबाट मनोज कुमार चौधरी लगायतले बहस गरेका थिए ।
जिल्ला अदालत रुपन्देहीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्व डीआईजी जोशी लगायत विरुद्ध सहकारीको रकम ठगी गरेको भन्दै अभियोग पत्र दर्ता भएको थियो ।
यस अघि लामिछाने अदालतमा उपस्थित भएर थुनछेक बहस पछि आदेश अनुसार एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

