
भैरहवा, २८ माघ । सिद्धार्थनगर नगरपालिकाको हिउँदे सभाको १७ औं अधिवेसनबाट दुईवटा विधेयक पारित भएको छ । पालिकाको अधिवेसनबाट प्राविधिक कर्मचारी व्यवस्थापन विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संसोधन विधेयक पारित भएको हो ।
सोमबार भैरहवा स्थित गणतान्त्रिक सभागृहमा भएको सभामा सभाअध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरण सहित दुइवटा विधेयक सभामा प्रस्तुत गरेका थिए । छलफल पछि विधेयक पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।
Advertisement

Advertisement
Advertisement

विधेयक पारित भएसँगै सिद्धार्थनगरलाई प्राविधीक कर्मचारी करारमा राख्न बाटो खुलेको छ । विधेयकमा करार तर्फ ईन्जिनियरिङ्ग, कृषी, पशु, स्वास्थ्य तथा प्राविधीक तर्फ अन्य कर्मचारी करारमा राख्न पाउने उल्लेख छ । त्यस्तै शिक्षा विधेयक संसोधन पछि नगर शिक्षा समितीमा उप प्रमुख समेत सदस्य रहने व्यवस्था गरिएको छ । विधेयकमा नगर प्रमुख अध्यक्ष भन्ने वाक्यको पछाडी नगर उपप्रमुख उपाध्यक्ष भन्ने थप गरिएको छ ।
नगर सभामा नगरको चालु आर्थिक बर्षको प्रगती सार्वजनिक गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँले ५७ औँ स्थापना दिवस २०८१ भब्य रुपमा सम्पन्न भएको, नगर सरसफाई, सडक बत्ति व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा गत बर्ष स्मार्ट लाईट जडान गरी सो कार्यको यस बर्ष फछर्यौट कार्य सम्पन्न भएका बताए ।
उनले छाडा चौपाया व्यवस्थापन, फोहोरमैला दिगो र मितव्ययी एवं गुणस्तरीय व्यवस्थापनको लागि सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्रवान, नगरको सौन्दर्यकरणको लागि तिनपाङ्ग्रे रिक्सा व्यवस्थापनका साथै ठेलाको व्यवस्थापन, पार्किंग व्यवस्थापन तथा अनधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्यका साथै नगरपालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गर्न १५ जना नयाँ नगर प्रहरी समेत नियुक्ति गरिनुलाई पनि चालु आर्थिक बर्षका महत्वपुर्ण उपलब्धी रहेको उल्लेख गरे ।
त्यस्तै उनले सिद्धार्थनगर नगरपालिकामा नेपाल सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट भएको भौतिक पूर्वाधार तर्फका योजनाहरु कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइसकिएको र पौष मसान्तसम्म पुर्वाधार निर्माण तर्फ ५९ वटा योजनाहरुबोल पत्र तथा दरभाउपत्रका माध्यमबाट सूचना प्रकाशन भएकोमा ४६ योजना सम्झौता भइ बाँकी १३ वटा योजनाहरु सम्झौताको प्रकृयामा रहेको उल्लेख गरे ।
ठेक्का खोलिएका योजनाहरुको काम सम्पन्न भए पश्चात ग्राभेल सडक तर्फ ५.७ कि.मि., नाला निर्माण तर्फ ६.५ कि.मि., आरसिसि सडक तर्फ ३५२ मिटर तथा भवन निर्माण तर्फ १२ वटा रहेका छन । सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनहरुमा पर्खाल निर्माण तर्फ १३९.७५ मिटर रहेको छ ।
नगर उपप्रमुख उमा अधिकारीले एसियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा संचालित हुन लागेको युआरएलआईपी योजनाको सम्झौता भएको र यसको छिट्टै कार्य प्रारम्भ हुने बताईन् । प्रमुख प्रशासकिय अधिकृत जनक थापाले डण्डा करिडोर निर्माणको लागि बिस्तृत सम्भाव्यता अध्ययन शहरी विकास मन्त्रालय मार्फत भइरहेकोले यो समेत छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए ।

