


पोखरा, ३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए। झुत्तो पोखराका मेयर आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएपछि दुर्घटना भएको हो।

हाइड्रोजन ग्याँस भरिएको बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पनि सामान्य चोट लागेको हो।उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । हाइड्रोजन अत्यन्तै प्रज्ज्वलनशील पदार्थ मानिन्छ। निकै हल्का पदार्थ हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ।
पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

