


भैरहवा, ६ फागुन । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनाको आरोपमा तीन जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-२ पकडीका २५ वर्षीय रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका-५ का २८ वर्षीय प्रदिप कान्दु, भारतको महाराजगंज जिल्लाका १८ वर्षीय शैलेश दुसाद, सोही स्थानका २३ वर्षीय पंकज सिंह र महाराजगंज जिल्ला नौतनवाका ३३ वर्षीय राहुल कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुमाथी भैरहवासहित विभिन्न स्थानमा चोरी गरेको र घटनामा संग्लनको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातुको डल्ला १४ दशमलव १ तोला, चाँदी जस्तो देखिने धातुबाट बनेको पाउजु ११ तोला ५३ लाल, मोबाइल चार थान, भारतीय रुपैयाँ २४ हजार ३ सय ९० र नेपाली रुपैयाँ ३ हजार पाँच सय बरामद भएको छ ।
पक्राउ परेका भारतीय नागरिकहरुले राती घरघरमा चोरी गर्ने र दिउँसो क्यासिनोमा जुवा खेल्दै आएका थिए । पक्राउ परेका व्यक्तिहरु उपर चोरी कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

